खेलाडीको पीडालाई सही ठाउँमा राख्न हरदम प्रयासरत रहने छु – राखेप सदस्य खड्का


४ कात्तिक , काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा मंगलबार संघका उपाध्यक्ष समेत रहेका हरि खड्का राखेपको बोर्ड सदस्यमा नियुक्त भएको अवसरमा बधाइ तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा भएको कार्यक्रममा बोल्दै खड्काले  “म पनि विशुद्ध खेलाडी पृष्ठभूमिबाट आएको हुँ । देशको प्रतिनिधित्व गर्दै धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेको छु । त्यसैले खेलाडीको पीडा बारे मलाई राम्रोसंग थाहा छ ।”
राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका सदस्य खड्काले भने –“खेलाडीको पीडालाई सही ठाउँमा उठाउन म हरदम प्रयासरत रहने छु । सबैको साथ र सहयोग पाए मात्र त्यो सम्भव छ ।” खड्काले खेलाडीको भविष्य कसरी सुरक्षित र सुनिश्चित गर्न सकिन्छ भन्ने विषय आफ्नो प्रथम प्राथमिकतामा रहेको बताउदै सदस्यमा नियुक्त गरी आफू संलग्न खेलक्षेत्रमा योगदान गर्न अवसर दिएकोमा नेपाल सरकारलाई धन्यवाद समेत दिएका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठले खड्काको नियुक्ति संगै सिंगो खेलकुद जगतले गर्वको अनुभूति गरेको बताउदै लामो सयमदेखि खेलकुद क्षेत्रमा योगदान पु¥याएको व्यक्तिलाई सदस्यमा मनोनित गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका थिए। उनले अब गठन हुने राखेपको कार्यकारी समितिमा खड्कालाई पनि अवसर दिएर खेलाडीप्रति न्याय गर्न सरकारसंग अनुरोध समेत गरेका छन ।

त्यस्तै खेलाडी संघका मानार्थ अध्यक्ष दीपक विष्टले खड्कालाई सदस्यमा नियुक्त गरेकोमा खेलाडी संघ मात्र नभइ सारा नेपाली खेलाडीलाई खुशी तुल्याएको धारणा व्यक्त गरेका छन ।

खड्कालाई गत असोज २९ गतेको मन्त्रीपरिषद् बैठकले राखेपको सदस्यमा नियुक्त गरेको थियो । खड्का अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितमा नेपालको तर्फबाट सर्वाधिक गोलकर्ता मध्येका एक हुन। अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत महिला विभाग प्रमुख समेत रहेका खड्काले अन्तर्राष्ट्रिय फुटबलमा १३ गोल गरेका थिए । उनी नेपाली राष्ट्रिय महिला फुटबल टोलीको पूर्व प्रशिक्षक समेत हुन । गतबर्ष नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पछि उनले प्रशिक्षकबाट राजीनामा दिएका थिए।