च्याम्पियन्स लिगमा बार्सिलोनाको नयाँ कीर्तिमान


५ कात्तिक, काठमाडौं । बार्सिलोना — लियोनल मेसीको प्रदर्शनमा १० खेलाडीमा सीमित बार्सिलोनाले मंगलबार हंगेरीको फेरेन्कभारोसलाई ५–१ ले हरायो ।
 मेसी युरोपेली च्याम्पियन्स लिगमा लगातार १६ औं सिजन गोल गर्ने पहिलो खेलाडी भएका छन् ।
क्याम्प नुमा भएको समूह ‘जी’ को खेलमा मेसीले पेनाल्टीबाट गोल गरे र च्याम्पियन्स लिगमा आफ्नो खेल जीवनको १ सय १६ औं गोल पनि पूरा गरे । लगतै अन्सु फाटीले दोस्रो तथा फिलिपे कोउटिन्होले तेस्रो गोल थपे ।
दोस्रो हाफमा जेरार्ड पिकेले रातो कार्ड पाए र त्यसमै प्राप्त पेनाल्टीमा फेरेक्भारोसका लागि इगोर खाराटिनले गोल गरे । त्यसयता बार्सिलोनाका तर्फबाट पेड्री र ओसमन डेम्बेलेले गोल गरे ।

यो जितपछि क्याटलान टिम गोल अन्तरले समूहको सुरुवाति शीर्ष स्थानमा रह्यो ।
समूहको अर्को खेलमा युभेन्टसले डायनामो किभलाई २–० ले हरायो । यसमा दुवै गोल अल्भारो मोराटाले गरे ।मार्कस रसफोर्डले ८७ औं मिनेटमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले भने पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई २–१ ले हरायो । 
प्रमुख खेलमा लाजियोले बोरुसिया डर्टमन्डलाई ३–१ र लाइपजिगले इस्टानबुल बासाकसेहिरलाई २–० ले हरायो ।
यस्तै क्लब ब्रुगले जेनिथ सेन्ट पिटर्सबर्गलाई २–१ ले पराजित गर्‍यो । यस्तै चेल्सी र सेभियाले ०–० तथा रेनेस र क्रासनोडेरले १–१ को बराबरी खेले ।