आईपीएल: मनिश र विजय चम्किदा हैदराबादको सानदार जित


६ कार्तिक, काठमाडौं । युएईमा जारी इन्डियन प्रिमियर लिग आइपीएलको ४० औं खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ८ विकेटले हराउन सफल भएको छ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन बनाएको हो । राजस्थानले पहिलो विकेट चौथो ओभरको तेस्रो बलमा गुमाउन पुगेको थियो। राजस्थानको ओपनिङ जोडी रविन उथप्पा र वेनस्टोक्सले पहिलो विकेटको रुपमा ३० रनको साझेदारी गरेका थिए । उथप्पा १३ बल फेस गर्दा २ चौका र एक छक्का प्रहार गर्दै व्यक्तिगत १९ रन बनाएर आउट भए । 

त्यसपछि स्टोक्स र सन्जु सामसनले राजस्थानको ५६ रनको साझेदारी गर्दै इनिङ अगाडि बढाउन खोजेका थिए । १२ औं ओभरको चौथो बलमा होल्डरले स्यामसनलाई ३६ रनमा बोल्ड आउट गरे । सामसन व्यक्तिगत ३६ रन बनाएर आउट हुँदा राजस्थानको स्कोर २–८६ भएको थियो ।उनले २६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । १३ औं ओभरको पहिलो बलमा स्पिनर राशिद खानले बेन स्टोक्सलाई ३० रनमा बोल्ड आउट गरेपछि राजस्थानको स्कोर ३–८६ भयो । स्टोक्सले ३२ बलमा २ चौका सहित ३० रन बनाएर पभेलियनको बाटो लागे।

जोस बटलर र कप्तान स्टिभ स्मिथले राजस्थाको स्कोर १०० पार गराए । टिमको स्कोर ११० हुँदा बटलर व्यक्तिगत ९ रनमा शहबाज नदीमबाट क्याच आउट हुन पुगे । होल्डरको १९ औं ओभरको पहिलो बलमा पाँचौं विकेटको रुपमा कप्तान स्टिभ स्मिथ लङअनमा मनिष पान्डेबाट १९ रनमा क्याच आउट हुन पुगे। १५ बल खेल्दा स्मिथले दुई चौका प्रहार गरेका थिए। रियान परागले भने १२ बल खेल्दा २ चौका र १ छक्का सहित २० रनको योगदान गरे । जोफ्रा आर्चर ७ बलमा एक चौका र एक छक्का सहित १६ रनमा नट आउट रहँदा राहलु टेवटियाले २ रनमा अभिजित रहे । हैदरावादका लागि जेशन होल्डरले तीन विकेट लिए ।

जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले १८ ओभर एक बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । राम्रो सुरुवात गर्न नसकेको हैदरावादले चार रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि १६ रनमा दोस्रो विकेट खेर फालेको हैदरावादलाई मनिश पाण्डेले ४७ बलमा ४ चौका र ८ छक्का सहित ८३ रन र विजय शंकरले ५१ बलमा ६ चौका सहित ५२ रनमा जित दिलाए । तेस्रो विकेटका लागि यी दुई खेलाडीले शतकीय साझेदारी गरे ।

बलिङमा राजस्थानका जोर्फा आर्चरले दुई विकेट लिए । यो जितसँगै हैदरावादको १० खेलमा ८ अंक भएको छ ।