धोनीले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास


भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। ३९ वर्षीय धोनीले इन्स्टाग्राममा पोस्ट गर्दै आफूले संन्यास लिने निर्णय गरेको बताएका हुन्। यसअघि टेस्ट क्रिकेटबाट संन्यास लिइसकेका विकेटकिपर ब्याट्सम्यान धोनीले अब एकदिवसीय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्ट्रिय खेल पनि खेल्नेछैनन्।धोनीले आइपिएल भने खेल्नेछन्। चेन्नइ सुपरकिंग्सका कप्तान धोनी पछिल्लो समय आइपिएलको तयारीमा छन्।

भारतीय क्रिकेट टिमका सफल कप्तान धोनीले भारतलाई सन् २००७ को टी-२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जिताउदा नेतृत्व गरेका थिए। उनले टेस्टमा पनि भारतलाई उत्कृष्ट टिम बनाएका थिए।सन् २००४ डिसेम्बरमा बंगलादेशविरुद्धको खेलमा डेब्यू गर्दै अन्तर्राष्ट्रिय करिअर सुरु गरेका धोनीले भारतका लागि ९० टेस्ट, ३५० एकदिवसीय र ९० टी-२० अन्तर्राष्ट्रिय खेल खेले।त्यसक्रममा उनले टेस्टमा ४८ सय रन, एकदिवसीयमा १० हजार रन र टी-२० मा १६ सय रन कटाए। उनले टेस्टमा ६ शतक र एकदिवसीय खेलमा १० शतक प्रहार गरे।

विश्वकप २०१९ खेलेपछि धोनी भारतीय टिममा समावेश थिएनन् भने उनले बिसिसिआईसँगको सम्झौता पनि गुमाएका थिए। जसका कारण उनको करिअर संकटमा परेको थियो।उनले पछिल्लो एकदिवसीय खेल २०१९ विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलेका थिए। टी–२० मा भने धोनीले पछिल्लो पटक २०१९ फेब्रुअरी अस्ट्रेलियाविरुद्ध खेलेका थिए।

विश्वकपबाट फर्किएपछि धोनी राष्ट्रिय टिमबाट छुट्टी लिएर भारतीय सेनाको ड्युटीमा खटिएका थिए।त्यसयता धोनीको भारतीय टिममा भविष्यबारे शंका गरिदै आएको थियो।भारतीय टिमका प्रशिक्षक रवि शास्त्रीले आइपिएलमा धोनीले राम्रो खेलेमा वर्षको अन्त्यमा हुने टी-२० विश्वकपमा खेलाउने बताएका थिए। तर कोरोना भाइरसका कारण आइपिएल पाँच महिना र ‍टी-२० विश्वकप एक वर्ष सर्दा धोनीको करिअरलाई पनि असर गर्‍यो।