बार्सिलोनाको लगातार तेस्रो जित


कार्तिक २०, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति सम्पन्‍न ग्रुप जी को खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले जीत हात पारेका छन् ।
युभेन्ट्सले फेरेन्कभारोसलाई उसैको मैदानमा ४-१ ले हराएको हो भने घरेलु मैदानमा बार्सिलोनाले डाइनामो किभलाई २-१ ले हरायो ।
युभेन्ट्सको जीतमा अल्भारो मोराटाले दुई गोल गरे भने पउलो डिबालाले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।
खेलको सातौं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ६०औं मिनेटमा पुनः मोराटाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ७२औं मिनेटमा डिबालाले गोल गरेपछि टोली ३-० ले अघि बढ्यो ।
बार्सिलोनाको २-१ को जीतमा कप्तान लियोनल मेसी र जेरार्ड पिकेले १-१ गोल गरेका थिए । किभका लागि साइगानकोले सान्त्‍वना गोल फर्काए ।
खेलको पाँचौं मिनेटमा प्राप्त पेनाल्टीमा कप्तान मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६५औं मिनेटमा पिकेले बार्साको अग्रता दोब्बर पारे ।
७५औं मिनेटमा साइगानकोभले एक गोल फर्काएको भएपनि त्यसपछि थप गोल हुन सकेन र बार्सा २-१ ले विजयी भयो ।
जीतसँगै ३ खेलमा ३ जीत निकालेको बार्सिलोना ९ अंकसहित समूह जी को शीर्षस्थानमा रहेको छ भने ३ मध्ये २ मा जीत निकालेको युभेन्ट्स दोस्रो स्थानमा छ ।
पराजित डाइनामो किभ र फेरेन्कभारोस समान १ १ अंकसहित तालिकाको तेस्रो र चौथो स्थानमा छन् ।