प्रिमियर लिग फुटबलमा १६ अंक जोड्दै साउथह्याम्पटन शीर्ष स्थानमा


२२ कात्तिक, काठमाडौं । साउथह्याम्पटन प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिन सफल भएको छ । लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा साउथह्याम्पटनले न्युकासल युनाइटेडलाई २-० गोलले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

साविक विजेता लिभरपुलसंग बराबरी अंक भएपनि गोलअन्तरका आधारमा साउथह्याम्पटन शीर्ष स्थानमा रहेको हो ।

उक्त खेलमा चे एडम्स र स्टुवार्ट आम्स्ट्रोङले गरेको एक-एक गोलको मद्दतले साउथह्याम्पटनले जित निकालेको हो।

खेलको सातौं मिनेटमा चे एडम्सले साउथह्याम्पटनको तर्फ बाट गोल गर्दै टिम लाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त सम्म अग्रता कायमै राखेको साउथह्याम्पटनले खेल सकिन ८ मिनेट बाँकी छँदा अर्को गोल गर्न सफल भयो। आम्स्ट्रोङले साउथह्याम्पटनका लागि दोस्रो गोल गरे ।

सन् १९८८ पछि पहिलो पटक लिगको शीर्ष स्थानमा उक्लिएको साउथह्याम्पटन ८ खेलबाट १६ अंक जोड्दै  शीर्ष स्थानमा रहेको छ । त्यस्तै पराजित न्युकासल भने ८ खेलबाट ११ अंकसहित ११ औं स्थानमा रहेको छ ।

साविक विजेता लिभरपुलको ७ खेलबाट १६ अंकको साथ दोस्रो स्थानमा झरेको छ ।

त्यसैगरी लिगको अर्को खेलमा ब्राइटन र बर्नलीले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन।