नेपालगञ्ज म्याराथनको उपाधि गोपीचन्द्रलाई, टोकियो ओलम्पिकका लागि छनोट


काठमाडौं । छैटौं नेपालगञ्ज म्याराथनको उपाधि एपीएफ क्लबका गोपीचन्द्र पार्कीले जितेका छन् ।


शनिबार बिहान भएको म्याराथनमा उनले उपाधि जितेका हुन् । जितसँगै उनी अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन् ।  उनले त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पार्दै उपाधि जितेका हुन् ।
 १३ औं दक्षिण एसियाली खेलकुद सागका ५ हजार मिटर दौडका स्वर्ण विजेतासमेत रहेका गोपीचन्द्र पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटर दूरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरे ।


दोस्रो भएका आर्मीका बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गरे । आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा पूरा गर्दै तेस्रो भए । उपाधि जितेसँगै गोपीचन्द्रले ७५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।


यसैगरी महिला हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पा भण्डारीले जितिन् । १३औं सागको हाफ म्याराथनमा रजत पदक जितेकी पुष्पाले निर्धारित दुरी १ घण्टा २६ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । उनले नगद ३० हजार प्राप्त गरिन् ।