युरोपा लिग: आर्सनलको शानदार जित


१९ मंसिर, काठमाडौं । लण्डन क्लब आर्सनलले युरोपा लिगमा र्‍यापिड विएनालाई पराजित गर्दै समूह चरणमा अपराजित यात्रा कायम राख्न सफल भएको छ।

र्‍यापिडलाई ४-१ ले पराजित गर्दै लगातार पाँचौ जित हात पारेको आर्सनलले यसअघि नै अन्तिम ३२ मा स्थान पक्का गरिसकेको थियो ।

आर्सनलको जितमा एलेक्जान्डर लाजाकाटेले १०औं, पाब्लो मारीले १८औं, एडवार्ड एनकेतिहले ४४औं र एमिली स्मिथ रोवेले ६६ औं मिनेटमा गोल गरे । र्यापिडका लागि कोया कितागयाले सान्वना गोल गरेका थिए।

समूहमा पाँचौ जितपछि १५ अंकसहित आर्सनल शीर्ष स्थानमै छ ।

कोरोना भाइरस महामारीपछि पहिलो पटक आर्सनलले घरेलु मैदानमा दर्शकको अगाडि खेलेको हो । २७१ दिनपछि मैदानमा पहिलो पटक दर्शक उपस्थित भएका हुन् । मैदानमा दुई हजार दर्शक थिए । मास्क लगाएका उनीहरु भौतिक दुरी कायम गरी बसेका थिए । यसअघि गत मार्च ७ मा वेष्टहमलाई पराजित गर्दा पनि आर्सनलले दर्शकअघि खेलेको थियो ।