खेलहरूको वर्गीकरण गर्नुपर्ने अबको आवस्यकता : खेलकुद मन्त्री बिश्वकर्मा


पुष ७, काठमाडौँ — युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्माले नेपाली खेलकुदको विकासका लागि खेल संघको वर्गीकरण हुने बताएका छन्। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा सोमबार भएको राष्ट्रिय संघहरुको अन्तक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले ऐनले खेल वर्गीकरणको ब्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि श्रोत, साधन र प्राथमिकताका आधारमा आवश्यकता अनुसार खेल संघहरु वर्गीकरण गरिने बताए।

त्यसैगरी राखेपका उपाध्यक्ष शिव कोइरालाले ब्यक्ति एउटा दायित्व धेरै संघमा भएको पाइएकाले अब त्यस्तो प्रथाको अन्त्य हुने बताए। संघ विबाद समाधन समितिका संयोजक समेत रहेका उपाध्यक्ष कोइरालाले भने,'संघ धेरै भएर राज्यले धान्न नसकेको होईन, कतिपय संघले गर्ने क्रियाकलाबाट खेलकुद बदनाम हुँदै आएको छ, अब यस्तो परिपाटी चल्दैन।'

यस्तै राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदका गतिबिधि क्रमशः सामान्य अवस्थामा आउँदै गरेको उल्लेख गर्दै भने, 'नेपाल सरकारको स्वास्थ्यको प्रोटोकललाई ध्यानमा राखी परिषद्ले पुष महिना भर खेलकुदले मेची–महाकाली जोड्ने गरि ७ वटै प्रदेशमा २-२ दिने कार्यक्रमको आयोजना गर्दैछ। प्रदेशका खेलकर्मी, खेलाडी, प्रशिक्षकलाई लक्षित कार्यक्रमले एक प्रकारको सन्देश दिनेछ।'

उनले संघहरुले प्रतियोगिता गर्नका लागि अनुमति मागि रहेको जानकारी गराउँदै भने, 'कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गदै खेलक्षेत्रको विकास–विस्तार र समृद्धिका लागि प्रतियोगिता पनि क्रमशः आयोजना हुँदै जाने छन।'

उक्त कार्यक्रममा ८० संघका प्रतिनिधिको सहभागिता रहेको थियो। धेरै जसो संघहरुले आगामी नवौं राष्ट्रिय खेलकुदमा आफ्नो खेललाई पनि समावेश गरिनु पर्ने धारणा ब्यक्त गरेका थिए।