काठमाडौंलाई अतिरिक्त समयमा हराउँदै धनगढी फाइनलमा


२८ वैशाख, काठमाडौं — काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै धनगढी एफसी नेपाल सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ ।

पराजए पश्चात पनि काठमाडौंले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ।

अब काठमाडौंले बिहीबार ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग अर्को क्वालिफायर खेल्नेछ। ललितपुर र बुटवलबीच बुधबार खेल हुनेछ।

मंगलबारको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ मिनेटमा तेज तामाङले गोल गरेर काठमाडौंलाई अग्रता दिलाए। उनले मेसोउकेको क्रसमा ६ यार्ड बक्सबाट हेडर मार्फत गोल गरेका थिए। 

एक गोल हुनेबित्तिकै खेलको गति बढे संगै धनगढीले तीन मिनेटपछि बराबरी गोल फर्कायो। पुजन उपरकोटीले ७८ मिनेटमा एक्रोब्याटिक सटमार्फत उत्कृष्ट गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए। 

इन्जुरी टाइमको चौथो मिनेटमा काठमाडौंले पेनाल्टी एरिया बाहिरबाट फ्रिक पाएको थियो । स्टेफेन विनोङ समिरको फ्रिकिक क्रस बारको ठीक माथिबाट बाहिरियो । त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा निर्धारित समयको खेल बराबरीमा सकियो। 

३० मिनेट थप गरिएको समयमा धनगढीका विशाल राईले निर्णायक गोल गर्दै धनगढीलाई फाइनल पुर्‍याए ।

१०८ औं मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई २-१ को अग्रता दिलाए । एक गोलले पछि परेपनि काठमाडौंले बराबरी गोल गर्ने अवसर पाएको थियो तर फिनिसिङमा चुक्दा पराजित भयो । 

तस्बिर:  एफ.डि.सि