ललितपुर द्वारा बुटवललाई पराजित, फाइनल प्रवेशका लागि भोली काठमाडौंसँग भिड्ने


२९ वैशाख, काठमाडौं — नेपाल सुपर लिग अन्तर्गत बुधबार ललितपुर सिटी एफसीले प्लेअफमा बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ। 

ललितपुरले दशरथ रंगशालामा भएको खेलमा बुटवललाई १-० गोलले पराजित गरेको हो। अब ललितपुरले फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। 

हारपछि बुटवल भने बाहिरिन पुगेको छ।

यसअघि धनगढी एफसीले काठमाडौंलाई हराएर फाइनलमा आफ्नो स्थान बनाएको थियो। 

बुधबार ललितपुरलाई जित दिलाउन कप्तान अन्जन विष्टले निर्णाय गोल गरे। उनले खेलको ६२ मिनेटमा हेडमार्फत गोल गर्न सफल भए। 

दोस्रो हाफमा बुटवलका करिमको प्रहार पोलमा लागेर फर्कनु टिमका लागि दुर्भाग्य साबित बन्न पुग्यो। 

प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन।