काठमाडौं द्वारा ललितपुरमाथि सानदार जित निकाल्दै फाइनल प्रबेश


३० वैशाख, काठमाडौं —  खुकुरी नेपाल सुपर लिग अन्तर्गत बिहिबार फाइनल प्रवेशका लागि भएको एलिमिनेटरको खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीविरुद्ध ३-० को फरकिलो जित निकाल्दै नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ।

अब उपाधिका लागि काठमाडौंले धनगढी एफसीसँग आगामी शनिबार प्रतिस्पर्धा गर्नेछ। यसअघि धनगढीले काठमाडौंलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो। 

बिहीबार काठमाडौंलाई जित दिलाउन मेसोउकेले दुई गोल गरे। जारी प्रतियोगितामा गोलकर्ताको सूचीमा उच्च स्थानमा रहेका उनले ७ गोल गरिसकेका छन। 

१४औं मिनेटमा प्राप्त पेनाल्टीमा  मेसोउके ओलुमोउले  गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाउन सफल भएका हुन। कमल श्रेष्ठले पेनाल्टी बक्समा मेसोउकेलाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले काठमाडौंलाई पेनाल्टी प्रदान गरेका थिए। जसमा उनले सानदार गोल गर्न सफल भए। गोलरक्षक अर्पण कार्कीले सही दिशामा डाइभ दिएपनि बचाउन असफल हुन पुगे।

२२औं मिनेटमा मेसोउकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २–० को अग्रता दोब्बर पार्न सफल भए। तेज तामाङको पासमा उनले पेनाल्टी बक्सभित्रबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक अर्पण कार्कीको हातमा लाग्दै गोलमा परिणत भएको थियो । 

काठमाडौंका लागि तेस्रो गोल स्टेफिन बिनोङले गरे। उनले खेलको ५९ औं मिनेटमा गोल गर्दै काठमाडौंलाई ३-० गोलले अघि बढाएका थिए। उनको यो तेस्रो व्यक्तिगत गोल हो ।

काठमाडौंका मेसोउके ओलमोउ खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजारसहित ट्रफी हात पारे। त्यसैगरी काठमाडौंकै आशिष गुरुङ खेलको इमर्जिङ खेलाडी घोषित हुन सफल भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

खेलपछि मेसोउकेले फाइनल प्रवेश गरेमा खुसी रहेको बताउदै मैदानमा सबै खेलाडिले उत्कृष्ट खेल देखाउन सकेकाले फाइनल पुग्न सकेको समेत बताए। उपाधिका लागि काठमाडौंले धनगढी एफसीसँग आगामी जेष्ठ १ गते शनिबार प्रतिस्पर्धा गर्नेछ।