मेसुकेको उत्कृष्ट गोल द्वारा काठमाडौं बन्यो नेपाल सुपर लिग च्याम्पियन


०१ जेष्ठ, काठमाडौं —  काठमाडौं रेजर्सले शनिबार नेपाल सुपर लिग पहिलो संस्करण जितेको छ।  दशरथ रंगशालामा भएको प्रतियोगिताको फाइनलमा धनगढी एफसीलाई १–० ले हराउदै काठमाडौंले उपाधिसँगै ३५ लाख रुपैंया प्राप्त गर्‍यो । क्यामरुनी खेलाडी मेसुके ओलोमोयुले पहिलो हाफको २१औं मिनेटमा गरेको उत्कृष्ट गोल नै निर्णायक बन्यो । 

धनगढीका विशाल राईबाट काठमाडौंका विश्वास श्रेष्ठले सटिक पास उपलब्ध गराएका थिए। जुन पासमा मेसौकेले चुकेनन। प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनेका उनले आठ गोल गरे।

पहिलो गोल गरेपछि काठमाडौं आक्रमक बनेको थियो। तर फिनिसिङमा सफल भएन। सुदील राईले खाली पोस्टमा गोल गर्न चुक्दा स्टेफिनङ बनोङको फिकिङ बाहिरियो।

प्रतियोगितामा यो दुई टिमबीचको तेस्रो भेट हो र यसक्रममा काठमाडौंले बेहोरेका दुई हारको बदला पनि लिएको छ । प्रतियोगिताको पहिलो उद्घाटन खेलमा काठमाडौंले जितसँगै सुरुआत गरेको थियो र अन्तिम खेलमा उसकै जितसँगै प्रतियोगिता टुंगेको छ। 

जितसपछि काठमाडौंका कप्तान विकेश कुथुले पहिलो गोल गरेपछि रक्षापंक्तिमा बढी ध्यान दिएको प्रतिक्रिया दिए। उनले पहिलो संस्करणको उपाधि आफ्नो कप्तानीमा जित्न पाउँदा खुसीको सीमा नभएको बताए। उनले टिमको एकताले उपाधि उचाल्न सफल भएको बताए। 

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना भएको नेपाल सुपर लिगमा कोभिड १९ का कारण सरकारले लागू गरेका अधिकांस आचार संहित पालन गरेर दर्शकविहीन आयोजना गरिएको प्रतियोगितामा सात वटा फ्रेन्चाइज टिमले भाग लिएका थिए। 

गत वैशाख ११ गतेदेखि भएको प्रतियोगितामा काठमाडौं र धनगढीसहित एफसी चितवन, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा भएको थियो।