जोर्डनसँग नेपाल ३–० ले पराजित


२४ जेष्ठ, काठमाडौं —  फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाललाई जोर्डनले पराजित गरेको छ। 

सोमबार राति कुवेत सिटीमा भएको खेलमा नेपालमाथि जोर्डनले ३-० गोलको जित निकालेको हो। जोर्डनको जितमा फैसनले दुई गोल गरे। उनले खेलको २३ पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। 

त्यसअघि रोहित चन्दले जोर्डनका खेलाडीलाई लडाएपछि पेनाल्टी दिइएको थियो। 

फैसनले खेलको ४८ मिनेटमा टिमको अग्रता दोब्बर पारे। उनले हानेको फ्रिकिक सिधैं जाली चुमेको थियो। जोर्डनका लागि तेस्रो गोल अबोउ अल अरबले गरे। उनले खेलको ६७ मिनेटमा गोल गरेका थिए। 

खेलको अन्त्यतिर नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।

समूह 'बी' ६ अंक जोडेर चौथो स्थानमा रहेको नेपालले अब अन्तिम खेल खेल्न बाँकी छ। 

नेपालले समूहको आफ्नो अन्तिम खेल जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ। 

सोमबार जोर्डनसँगै पराजित भएसँगै नेपाल एसियन कपको तेस्रो चरणमा सिधैं पुग्ने सम्भावना लगभग सकिएको छ। यद्यपी नेपाललाई प्लेअफबाट तेस्रो चरणमा पुग्ने अवसर भने बाँकी छ।

नेपालविरुद्ध जित हात पारेसँगै जोर्डन १३ अंक जोडेर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको अस्ट्रेलियाको १५ अंक छ। 

कुवेत १० अंकसहित तेस्रो स्थानमा छ भने चौथो स्थानको नेपालको ६ अंक छ। पुछारको चाइनिज ताइपेईले भने अंक जोड्न सकेको छैन।