डेनमार्कलाई हराउँदै बेल्जियम नकआउट चरणमा प्रवेश गर्न सफल


३ असार, काठमाडौं —  बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलमा लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको छ।

कोपनहेगनस्थित पार्केन स्टेडियममा सम्पन्न समूह बी अन्तर्गत उपाधि दावेदार बेल्जियमले डेनमार्कलाई २-१ गोल अन्तरमा हराउँदै लगातार दोस्रो जित निकाल्न सफल भएको हो।

बेल्जियमलाई जिताउन थोर्गन हाजार्ड र केभिन डी ब्रुएनले एक एक गोल गरेका थिए। 

घरेलु मैदानमा भएको खेलमा डेनमार्कले खेलको दोस्रो मिनेटमा नै अग्रता लिँदै आफ्ना समर्थकमाझ उत्साह छरेको थियो । बेल्जियमको डिफेन्समा कमजोरीको फाइदा उठाउँदै युसुफ पाउल्सेनले गोल गरेका थिए । उनले पिएर इमिलको पासलाई नियन्त्रणमा लिँदै गरेको प्रहार गोलमा परिणत भएको थियो ।

पहिलो हाफमा १- ० ले पछि परेको अवस्थामा दोस्रो हाफमा आक्रमक खेल खेलेको बेल्जियमले खेलको ५४ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो।

बेल्जियमका लागि थोर्गान हाजार्डले गोल गरेका थिए।  उनले ब्रुएनको पासमा गोल गर्न सफल भए।

खेलको ७० औं मिनेटमा केभिन डि ब्रुएनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए।  दोस्रो हाफमा मैदान प्रवेश गरेका ब्रुएनले कप्तान इडेन हाजार्डको पासमा गोल गरेका हुन् ।

त्यसपछि दुवै टोलीले गोलको अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन । डेनमार्कले ८७ औं मिनेटमा खेल बराबरी गर्न अवसर पाएपनि क्रसबार त्यसमा बाधक बन्यो । ८७ औं मिनेटमा मार्टिन ब्रेथवेटले स्कोभ ओल्सनको क्रसमा गरेको हेडरमा क्रसबारले बेल्जियमको अग्रता जोगायो ।

फिनल्यान्डसँग पहिलो खेलमा हार बेहोरेको डेनमार्कले यो पराजयसँगै समूह चरणबाट नै बाहिरिने सम्भावना बढेको छ । यस्तै लगातार दोस्रो जित निकालेको बेल्जियम दोस्रो चरणमा पुगेको छ।

पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको थियो ।

समूह ‘बी’ मा बेल्जियमको ६ तथा रसिया र फिनल्यान्डको समान ३-३ अंक रहँदा डेनमार्क अंकविहीन छ । पहिलो खेलमा फिनल्याण्डसँग १–० ले पराजित भएको डेनमार्कको यो लगातार दोस्रो हार हो।