कतारको एस्पेटर अस्पतालमा सावित्राको घुँडाको सफल शल्यक्रिया


३१ असार, काठमाडौं — नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीको घुँडाको सफल शल्यक्रिया भएको छ । कतारको दोहास्थित अप्सटर हस्पिटलमा बिहीबार सावित्राको घुँडाको शल्यक्रिया सम्पन्न भएको हो ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले विश्वको प्रख्यात खेल अस्पताल अप्सटर अस्पतालमा सफल अपरेशन भएकोको पुष्टि गर्नुभयो। कतार फुटबल संघसँगको सहकार्यमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले सावित्राको उपचार कतारमा गर्ने व्यवस्था मिलाएको हो। 

गत वर्ष भएको महिला राष्ट्रिय लिगको दौरानमा सावित्रालाई चोट लागेको थियो । नेपाल पुलिस विरुद्ध खेल्ने क्रममा एपीएफकी सावित्राको दाँया खुट्टाको ‘इन्टेरिएर क्रुसिएट लिगामेन्ट’ च्यातिएको थियो । जसका कारण सावित्राले लिगको अन्तिम दुई खेल समेत गुमाएकी थिइन् ।

उनको टिम एपीएफले अपराजित रहँदै लिग जित्दा सावित्राले १० खेलमा ४३ गोल गरेकी थिइन् । उनी लिगको उत्कृष्ट फरवार्ड समेत बनेकी थिइन् ।

भण्डारीले आगामी सेप्टेम्बरमा नेपालमै हुने एसियन कप छनोट खेल गुमाउने भएकी छन। 

यसअघि एन्फाकै पहलमा मिडफिल्डर विक्रम र फरवार्ड विमल घर्ती मगरको उपचार पनि कतारमै भएको थियो ।