मैत्रीपुर्ण खेलका लागि भारतीय टोली आज नेपाल आउँदै


१४ भदौ, काठमाडौं — नेपाल विरुद्धको दुइ मैत्रीपुर्ण फुटबल खेलका लागि भारतको २५ सदस्यीय राष्ट्रिय फुटबल टोली आज काठमाडौं आउँदैछ । कोलकातामा दुई साता लामो अभ्यास तथा केही प्रदर्शनी खेल समेत खेलेको भारतीय टोली आज काठमाडौं आइपुग्ने अल इण्डिया फुटबल फेडरेशन (एआईएफएफ) ले जनाएको छ ।

कोलकातामा बन्द प्रशिक्षण सकेर भारतीय टोली आइतबार नै दिल्ली फर्किएको थियो । साथै भारतीय टोली दिल्लीबाट आज काठमाडौं प्रस्थान गर्ने फेडरेशनले जनाएको छ ।

फेडरेशनले नेपाल विरुद्धको खेलका लागि सिनियर फुटबल टोली नै आउने यसअघि नै घोषणा गरिसकेको थियो। जसमा नियमित कप्तान सुनिल क्षेत्री, गोलरक्षक गुरप्रित सिंह सन्धु, मनविर सिंह, ग्लेन मार्टिन्स जस्ता अनुवभी खेलाडीहरु सामेल छन।

भारतीय टोलीले कोलकातामा गरेको बन्द प्रशिक्षणका क्रममा त्यहाँ दुई प्रदर्शनी खेल समेत खेलेको थियो । जसमा भारतले पहिलो खेलमा इण्डियन फुटबल एसोसिएशन (आइएफए) लाई १–० ले हराएको थियो भने दोस्रो खेलमा चर्चित आई लिग कलब मोहम्मदन स्र्पोटिङ क्लबलाई २–० ले पराजित गरेको थियो ।

यता नेपाली टोलीले पनि पोखरा रंगशालामा बन्द प्रशिक्षण गरेको थियो । जुन प्रशिक्षण आइतबार मात्र सम्पन्न भएको छ । साथै नेपाली टोली पनि भारत विरुद्धको मैत्रीपुर्ण फुटबल म्याचका लागि काठमाडौं फर्किने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाइसकेको छ ।

नेपाल र भारतबीचको पहिलो खेल यहि भदौ १७ गते बिहीबारका दिन हुनेछ भने दोस्रो खेल भदौ २० गते आइतबारका दिन हुनेछ । दुवै खेल काठमाडौं स्थित दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ । 

Image: thebridge.in