पारालिम्पिकमा नेपालकी पलेशा गोवर्धनले पहिलो खेलमा बेलायतकी मुनरो बेथ बिरुद्ध प्रतिस्पर्धा गर्ने


१६ भदौ, काठमाडौं — जापानको टोकियोमा जारी पारालिम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पहिलो खेलमा बेलायतकी मुनरो बेथ बिरुद्ध प्रतिस्पर्धा गर्ने भएकी छन् ।

उनले महिला के४४ विधाको ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । कुल ११ खेलाडीले प्रतिस्पर्धा गर्ने उक्त तौल समूहमा ५ खेलाडीले भने सिधै क्वाटरफाइनलमा स्थान बनाएका छन। पलेशाले बेलायती खेलाडीलाई हराएरमा क्वाटर फाइनलमा टर्कीकी गाम्जे गुर्डलसँग खेल्ने छिन।

एशियन च्याम्पियनसिपमा काश्य विजेता पलेशाले शुक्रबार विहानबाट आफ्नो प्रतिस्पर्धा थाल्नेछिन् । विहान सुरु हुने प्रतिस्पर्धाको त्यसै दिन बेलुका फाइनल हुनेछ ।

पारालिम्पिकमा सहभागिता जनाउन एक खेलाडीसहित छ सदस्यीय नेपाली टोली गत साता नै टोकियो पुगिसकेका छन। पारालिम्पिकमा कविराज नेगी लामा - प्रशिक्षक, दीपक विष्ट - अफिसियल, सरोज श्रेष्ठ - सेफ दि मिसन, डा दीपक श्रेष्ठ - फिजियो र विश्वास बस्नेत - कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी भएका छन।

विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी पलेशाले कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पारालिम्पिक छनोट खेल खेल्न पाएकी थिइनन् । तर पछि वाइल्डकार्डमा नाम परेपछि उनको यात्रा तय भएको थियो ।