नेपाल र भारतबीचको खेलमा ५१ सय दर्शकले प्रवेश गर्न अनुमति पाउने


१६ भदौ, काठमाडौं — सरकारले ५१ सयलाई प्रवेश गर्न अनुमति दिएसँगै दर्शकले नेपाल-भारतबीचको मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशाला जान पाउने भएका छन्। उक्त खेल हेर्न दर्शकका लागि एक हजार र दुई हजार रुपैयाँका दरले टिकटको मूल्य तोकिएको छ। 

अखिले नेपाल फुटबल संघ (एन्फा) का अुनसार नर्मल प्यारापिटको टिकट एक हजार र भिआइपी प्यारापिटको मूल्या दुई हजार तोकिएको छ। भिआइपीतर्फ ३५० वटा मात्र टिक बेचिने एन्फाको भनाइ छ। 

खेल हेर्नको लागि टिकट प्रभुपेबाट टिकट काट्नु पर्नेछ।

खेल हेर्नका लागि भ्याक्सिन कार्ड चाहिने र भ्याक्सिन कार्ड नभए पिसिआर रिपोर्ट अनिवार्य चाहिने उनले बताए।

बिहीबार र आइतबार हुने खेल साढे पाँच बजेदेखि सुरू हुनेछ।

६ वर्षपछि दशरथ रंगशालामा भिड्दै नेपाल र भारत

दक्षिण एसियाली देशहरूको फुटबलमा सबैभन्दा ठूलो प्रतिस्पर्धा हो- साफ च्याम्पियनसिप। सन् १९९३ मा पाकिस्तानको लाहोरमा पहिलो संस्करणको साफ च्याम्पियनसिप भएको थियो। त्यसयता साफका १२ संस्करण सम्पन्न भइरहेका छन्। 

१२ मध्ये भारतले ७ पटक उपाधि जितेको छ। माल्दिभ्सले दुई पटक उपाधि जित्दा अफगानिस्तान, श्रीलंका र बंगलादेशले एक-एक उपाधि जितेका छन्।

सन् २००५ देखि साफ खेलेको आफगानिस्तानले २०१५ मा अन्तिम पटक साफ खेलेको थियो। अफगानिस्तानले मध्य एसिया फुटबल महासंघमा आबद्ध हुन साफ छाडेको थियो।

नेपाल, पाकिस्तान र भुटानले भने उपाधि जित्न सकेका छैनन्। तीनै टिम अहिलेसम्म साफको फाइनलमा समेत पुग्न सकेका छैनन्।

साफको १३औं संस्करण आगामी महिना माल्दिभ्समा हुने तय छ। सो प्रतियोगितामा उपाधि जित्ने लक्ष्यका साथ नेपाली टिमले तयारी गरिरहेको छ। हुन त प्रत्येक संस्करणमा नेपालको लक्ष्य उपाधि जित्ने नै हुन्छ। तर मैदानमा नेपाल सफल हुन सकिरहेको छैन। 

अहिले पोखरामा रहेको नेपाली टिम केही दिनपछि साफको तयारीका लागि कतार जाँदैछ। नेपाली टिम कतारबाट सिधै माल्दिभ्स पुग्ने कार्यक्रम छ। 

त्यसअघि नेपालले साफको सबैभन्दा सफल टिम भारतसँग मैत्रीपूर्ण खेल खेल्दैछ।

दुवै टिमले यी मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको तयारीका रूपमा लिएका छन्। 

नेपाली टिमले पनि भारतीविरुद्धको खेललाई साफ च्याम्पियनसिपअघिको अवसरको रुपमा लिएको छ। नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफअघि भारतविरुद्ध खेल्दा फाइदा पुग्ने केही दिनअघि बताएका थिए।

छिमेकी प्रतिद्वन्द्वनी नेपाल र भारतबीच  सन् १९८५ मा पहिलो प्रतिस्पर्धा भएको थियो। त्यसयता नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएका छन्।

ती १९ मध्ये भारतले १३ खेलमा  जित हात पारेको छ। नेपाल केवल २ खेलमा मात्र विजयी भएको छ। ४ खेल भने बराबरीमा सकिएका छन्। भारतले नेपालको  पोस्टमा ३३ गोल गरेको छ। नेपालले भने ९ गोल मात्र गर्न सकेको छ। 

पछिल्लो पटक नेपाल र भारतबीच जुन ६, २०१७ मा प्रतिस्पर्धा भएको थियो। मुम्बईमा भएको सो खेलमा भारत २-० गोलले विजयी भएको छ। 

दुई टिमबीच दशरथ रंगशालामा २०१५ मा प्रतिस्पर्धा भएको थियो। विश्वकप छनोटको दोस्रो लेगको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपको समूह चरणमा नेपाल  र भारतबीच प्रतस्पर्धा भएको थियो। सो खेलमा नेपालले २-१ को रोमाञ्चम जित हात पारेको थियो। उक्त खेलमा नेपालका लागि अनिल गुरुङ र जुमानु राईले गोल गरेका थिए।

दुई देशको प्रतिस्पर्धामा सुनील क्षेत्री बढी गोल गर्ने खेलाडी हुन्। उनले नेपालविरुद्ध आठ खेल खेल्दै पाँच गोल गरेका छन्। 

नेपाली टिम 

गोलकिपर : किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डर : सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द

मिडफिल्डर : सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, आयुष घलान

फरवार्ड  : मनिष डाँगी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशीष लामा

भारतीय टिम

गोलकिपर : अम्रिन्दर सिंह, धीरज सिंह, गुरप्रीत सिंह सान्धु 

डिफेन्डर : प्रितम कोतल, चिंलेसना सिंह, मन्दर राओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभासिश बोसे, सेरिटन फर्नान्डेस

मिडफिल्डर : ललेङमाविआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेकसन सिंह, प्रोनय हल्दर

फरवार्ड : मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी

नेपाल भर्सेस भारतबीचको १९ खेलको नतिजा
२०-१२-१९८५    भारत ०-० नेपाल              साफ गेम्स
२१-१२-१९८५    भारत २-० नेपाल              साफ गेम्स 
३०-११-१९८७    भारत १-० नेपाल               साफ गेम्स 
२६-१२०-१९८९  भारत २-१ नेपाल               साफ गेम्स 
२१-७-१९९३     भारत १-० नेपाल                साफ च्याम्पियनसिप
१८-१२-१९९३   भारत २-२ नेपाल                साफ गेम्स 
२२-१२-१९९३   नेपाल २-२ (४-३) भारत       साफ गेम्स 
५-१२-१९९८    नेपाल ०-१ भारत                एसियन गेम्स
३००-९-१९९९   नेपाल ०-४ भारत               साफ गेम्स 
८-१२-२००५     भारत २–१ नेपाल              साफ च्याम्पियनसिप 
३-६-२००८     भारत ४–० नेपाल             साफ च्याम्पियनसिप 
८-१२-२००९     भारत १– ० नेपाल            साफ च्याम्पियनसिप 
२८-८-२०१२     भारत ० – ० नेपाल          अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
५-९-२०१३     नेपाल २ – १ भारत           साफ च्याम्पियनसिप 
१९-११-२०१३    भारत २ – ० नेपाल       अन्तर्राष्ट्रिय मैत्रीपूर्ण
१२-३-२०१५     भारत २ – ० नेपाल         विश्वकप छनोट 
१७-३-२०१५     भारत ० – ० नेपाल        विश्वकप छनोट 
२७-१२-२०१५    भारत ४-१ नेपाल        साफ च्याम्पियनसिप 
६-६-२०१७      भारत २-० नेपाल          अन्तर्राष्ट्रिय मैत्रीपूर्ण 

सेतोपाटी