यु-१९ महिला साफ: नेपालले आज भुटानसँग खेल्दै फाइनल पुग्ने सम्भावना कायम


पौष २, काठमाण्डौ — यु-१९ महिला साफ च्याम्पियनसिपमा नेपालले आफ्नाे तेस्राे खेलमा आज भुटानसँग खेल्दै छ।

नेपाल र भुटानबीचकाे खेल बंगलादेशको ढाकास्थि शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पाैने ७ बजे सुरु हुनेछ । फाइनल पुग्ने सम्भावना कायम राख्न नेपालले भुटान विरुद्ध जित निकाल्नुपर्छ।

यसअघि नेपालले आफ्नाे पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गरेको थियो। जितपछि नेपालले २ खेलबाट ४ अंक जोडेको थियो।

महिला साफ च्याम्पियनशिपमा नेपाल द्वारा श्रीलङ्कालाई ६–० गोलको फराकिलो जित

भुटानले भने पहिलो खेलमा श्रीलंकालाई ५-० ले हराएकाे थियाे भने दोस्रो खेलमा बंगलादेशसँग ६-० र तेस्रो खेलमा भारतसँग ३-० गाेल अन्तरले हारेकाे थियाे। भुटानले ३ खेलबाट ३ अंक जोडेको थियाे ।

नेपालले अब पुस ४ गते भारतसँग खेल्नेछ । ४ देश सहभागी प्रतियोगिताका शीर्ष २ टोली फाइनल पुग्नेछन् ।  २ खेलबाट ६ अंक जाेडेकाे भारत अंकतालिकाकाे शीर्ष स्थानमा छ। लगातार तीन खेलमा पराजित भएकाे श्रीलंका प्रतियाेगिताबाट बाहिरिसकेकाे छ ।