सातदोबाटो युथ क्लबसँग त्रिभुवन आर्मी बराबरीमा रोकियो


पौष २, काठमाण्डौ — सहिद स्मारक ए डिभिजन लिगमा आज भएको खेलमा सातदोबाटो युथ क्लबसँग बराबरीमा रोकिएपछि त्रिभुवन आर्मी क्लबले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। दुवै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

जारी लिगमा तेस्राे बराबरी खेलेकाे आर्मीलाई सातदाेबाटाेसँगकाे बराबरी एएफसी कप क्वालिफायरमा छनाेट हुन र उपाधि रेसमा रहन महँगाे पर्न सक्छ ।

दुवै टिमले आक्रमक सुरुवात गर्दै सुरुकाे १६ मिनेट भित्रै गाेल गरे । तर ३ अंक भने दुवै टिमले जाेड्न सकेनन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएकाे खेलकाे १० औं मिनेटमै दिनेश हेन्जनले गाेल गर्दै आर्मीलाई पहिले अग्रता दिलाएका थिए । टेकबहादुर बुढाथाेकीकाे क्रसमा कप्तान जर्ज प्रिन्स कार्कीले मिलाएकाे पासमा दिनेशले सहजै गाेल गरे । नियमित कप्तान भरत खवास पहिलाे राेजाइमा नखेलेपछि जर्ज प्रिन्सले आर्मीकाे कप्तानी सम्हालेका थिए ।

आर्मीले अग्रता लिएर सम्हालिन नपाउँदै सातदाेबाटाेले ६ मिनेटपछि नै बराबरी गाेल फर्कायाे ।
१६ औं मिनेटमा विदेशी खेलाडी अजयी मार्टिन्सले सनतदाेबाटाेका लागि गाेल गरे । उनले गोलकिपरको लामो प्रहारमा आर्मीका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए। आर्मीका दुई सेन्टर ब्याक विमल पाण्डे र विकास तामाङले मार्टिन्सलाई राेक्न सकेनन् ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बिहीबारकाे प्रि म्याच कन्फ्रेन्समा सातदोबाटो अन्डर डग टिमकाे रुपमा देखा परेको र बलियाे टिम रहेकाे बताएका थिए । उनले लिग उपाधिकाे रेसमा रहेकाेले ३ अंककै लागि खेल्ने बताएका थिए ।

त्यसैगरी सातदाेबाटाेका सहायक प्रशिक्षक सुरज महर्जनले पनि आर्मी बलियाे टिम रहेकाे भन्दै यसअघिका कमजाेरीलाई सुधार गर्दै आर्मी विरुद्ध ३ अंककै लागि खेल्ने बताएका थिए ।

पहिलो हाफमा दुवै टाेली गाेल थप्न प्रयासरत थिए तर दुबै टिम गोल गर्न असफल रहे। दाेस्रो हाफमा पनि दुवै टाेलीले अग्रता लिने प्रयास जारी राख्याे तर गोल गर्न सकेन। 

बराबरीसँगै अंक तालिकाको तेस्रो स्थानमा रहेको आर्मीले ५ खेलबाट ९ अंक जाेड्दै तेस्राे स्थानमै छ। चौथो स्थानको सातदोबाटोको ५ खेलबाट ८ अंक छ।