खेलकुद सरोकारवालाहरुको उदासिनताको कारण नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्योलमा: एनएनआइपीए


पौष ३०, काठमाडौं — राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोभिड १९ महामारीको प्रभाव तथा नेपाली खेलकुदका सरोकारवाला निकायहरुको उदासिनताका कारण गतवर्ष नै गण्डकी प्रदेशमा हुनुपर्ने नवौं वृहत राष्ट्रिय खेलकुद महोत्सव अन्योलमा परेको जनाएको छ ।

एनएनआपिएका अध्यक्ष दीपक श्रेष्ठले उक्त विज्ञप्ती मार्फत यूवा तथा खेलकुद मन्त्रालयलाई सो वारे गम्भिरता पूर्वक अघि बढ्न आग्रह गर्दै तोकिएको मिति भन्दा पनि एक वर्ष ढिला भइसक्दा समेत नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति घोषणा नहुँदा चिन्ता व्यक्त गर्दै यूवा तथा खेलकुद मन्त्रालयलाई गम्भिर बन्न आग्रह गरेका हुन ।

राष्ट्रिय खेलकुद परिषदले पछिल्लो समय घोषणा गरे अनुरुप आउँदो फागुनमा नवौ राष्ट्रिय खेलकुद हुनुपर्नेमा अहिले जिल्ला र प्रदेशका छनोट तालिका सार्वजनिक नहुनुले राखेप र युवा तथा खेलकुद मन्त्रालय गम्भीर नरहेको प्रमाणित हुने एनएनआइपीएको बुझाइ छ ।
 
राखेप बोर्डले नीतिगत रुपमा सबै निर्णय गरिसकेको अवस्थामा काम गर्नुपर्ने भनेको स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रले नवौं राष्ट्रियको तयारी थाल्नु पर्ने जनाउँदै कार्यकारी प्रमूखको मुद्धा छिनोफानो नभएसम्मको समयमा बोर्डको अघिल्लो निर्णयलाई आधार मानेर राखेपका विभिन्न विभागहरुले तयारीको काम गर्नुपर्नेमा सबैले मुख हेराहेरको स्थितीमा रहनु दूर्भाग्य भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले जारी गरेको प्रेस विज्ञप्तिः

कात्तिक १ गते निवर्तमान सदस्य–सचिव रमेशकुमार सिलवाललाई पदमुक्त गर्दै मंसिर १३ गते मन्त्रिपरिष्दको बैठकले टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । तर, निवर्तमान सदस्य–सचिव सिलवालले यस बारेमा असहमती जनाउदै सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । त्यसको छिनोफानो अझै भएको छैन ।

खेलाडीले प्रशिक्षण र प्रतिस्पर्धाको मौका नपाउने हो भने उसको मेहनतको कुनै अर्थ नरहने जिकिर गर्दै विज्ञप्तीमा अदालतबाट मुद्धा टुंगो नलागेसम्मका लागि राखेपका विभिन्न विभागलाई सक्रियताका साथ तयारीमा जुट्न संस्थाले आग्रह गरेको छ । 

युवा तथा खेलकुद मन्त्रालयलाई पनि सदस्य सचिव विवादको टुंगो नलागेको बहानामा खेलकुदका सबै गतिविधि रोकिने अवस्थाको अन्त्य गर्न प्रभावकारी पहल कदमीका लागि मन्त्रालय संग अनुरोध गरेको छ ।