राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतद्वारा फुटसल एकेडमी सञ्चालनमा ल्याउने


आषाढ २७, काठमाडौं — नेपाली राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले फुटसल एकेडमी सञ्चालन गर्ने भएका छन् ।

भविष्यमा अब्बल फुटसल खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रशिक्षक बस्नेतले साउन ७ टिप्टो फुटसल एकेडमी सञ्चालनमा ल्याउन लागेका छन्। उक्त एकेडमीमा ४ वर्ष देखि १५ वर्षसम्मका बालबालिकाहरुलाई प्रशिक्षण गराइने छ।

‘हाल नेपालमा फुटसलमात्रै खेल्ने खेलाडीहरु निकै कम छन । फुटसल राष्ट्रिय टोलीमा प्रायः ‘ए’ डिभिजन क्लब लगायत अन्य क्लबबाट व्यावसायिक फुटबल खेल्ने खेलाडीहरु छन् । हामीसँग फुटसल खेलाडीको धेरै विकल्प पनि छैन ।’ प्रशिक्षक बस्नेतले भने, फुटसलको विकास गर्न खेलाडी उत्पादन गर्न जरुरी छ । त्यसैले खेलाडी उत्पादनको निमित्त एकेडमी सञ्चालन गर्न लागेका हौ।’

महिनाको चार सेसनमा हुने प्रशिक्षण हरेक शनिबार हुनेछ । प्रशिक्षण मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ । प्रशिक्षक बस्नेतका अनुसार प्रारम्भिक प्रशिक्षण बालाजुस्थित मोनिस्ट्री फुटसलमा हुनेछ ।

तत्कालका लागि शनिवार मात्र प्रशिक्षण सञ्चालन गरिने भएपनी पछि नियमित रुपमा प्रशिक्षण थालिने प्रशिक्षक बस्नेतले बताए । यो कार्यले निकट भविष्यमा देशको प्रतिनिधित्व गर्ने खेलाडीहरु उत्पादन हुने कुरामा उनि विश्वस्त रहेका छन्।