आ-आफ्नो समयका सात सर्वोत्कृष्ट खेलाडीलाई सर्वकालिन सम्मान


१९ साउन, काठमाडौं — हाम्रो खेलकुद डट कम द्वारा आफ्नो सातौं वार्षिकोत्सवमा आफ्नो समयमा महत्वपूर्ण योगदान गरेकी तेक्वान्दो क्विन संगीना वैद्य लगायत आ-आफ्नो समयका सात सर्वोत्कृष्ट खेलाडीहरुलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान प्रदान गरेको छ।

पाटनको अशोक पार्टी प्यालेसमा आयोजित कार्यक्रमा नेपालको खेलकुद इतिहासमा नेपाललाई पहिलो एसियाली पदक दिलाउन सफल खेलाडी तथा  ओलम्पिकमा छनोट चरण पार गरेर ओलम्पिक खेल्न सफल पहिलो नेपाली खेलाडि तेक्वान्दोकी संगिना वैद्य हाम्रो खेलकुद सर्वकालीन सम्मानबाट सम्मानित भइन ।

त्यसैगरी पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, सागमा खेलाडी र प्रशिक्षकका रुपमा स्वर्ण पदक विजेता फुटबलका राजुकाजी शाक्य, सागमा लगातार ४ स्वर्ण पदक जितेका तेक्वान्दोका दीपक विष्ट, नेपाली क्रिकेट इतिहासका सर्वाधिक सफल कप्तान पारस खड्का र सागको एकै संस्करणमा सर्वाधिक पदक विजेता पौडीकी गौरिका सिंह एकै थलोमा हाम्रो खेलकुद सर्वकालीन सम्मानबाट सम्मानित भए ।

सबै सम्मानित खेलाडिहरुलाई सम्मान पत्र र जनही २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो।

सम्मानित खेलाडिहरुलाई पुर्व स्वास्थ्य मन्त्री तथा सांसद् गगन थापा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, चाइना ट्रेडलिंक सिइओ राजन महर्जन, बेथानचोक गाँउपालिकाका निवर्तमान अध्यक्ष प्रेम बहादुर तिमिल्सिना, श्यामकृष्ण हुमागाई, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले पुरस्कृत गरे ।