पूर्वखेलाडीहरु द्वारा २ करोडको लगानीमा मार्सल आर्ट्स एकेडेमी स्थापना


२८ साउन, काठमाडौं — पूर्वखेलाडीको पहलमा च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीको स्थापना गरिएको छ।

विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समेट्दै काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु खरिबोटमा स्थापना गरिएको एकेडेमीको शुक्रबार शुभारम्भ गरिए पनि यसअघि नै सञ्चालनमा ल्याइएको थियो।

जग्गा भाडामा लिएर निर्माण गरिएको एकेडेमी साढे दुई रोपनी जग्गामा फैलिएको छ। झन्डै २ करोड रुपैयाँ लगानीमा बनेको एकेडेमीमा हाल कराते र तेक्वान्दो खेलको प्रशिक्षण हुँदै आएको छ।

बिहान र साँझ गरी दुईसत्रमा ९० जनाले प्रशिक्षण लिइरहेको एकेडेमीले जनाएको छ। करातेमा श्याम सुनुवार तथा तेक्वान्दोमा लालबहादुर बराम र युगेन गुरुङले प्रशिक्षण दिइरहेका छन।

सन् २०१० मा बंगलादेशमा सम्पन्न ११ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका करातेका सुनील लामा (हाल अमेरिका), दक्षिण एसियाली जुडो च्याम्पियनसिपका स्वर्ण विजेता सरोज महर्जन (हाल फ्रान्स), तेक्वान्दोका पूर्वराष्ट्रिय खेलाडी पुष्प थापामगर (हाल अमेरिका), ११ औं सागका उसुका पदकधारी राजु महर्जन (हाल अस्ट्रेलिया), एम्बासडर कप तेक्वान्दोका स्वर्ण विजेता सुजन जोशी (हाल मकाउ) को पहलमा एकेडेमी स्थापना गरिएको हो।

नेपाल एपीएफ क्लबको तेक्वान्दो र कराते टोलीले यही एकेडेमीमा प्रशिक्षण गर्दै आएका छन्। स्थानीय रूपमा मार्सल आर्ट्स खेलाडी तयार पार्ने लक्ष्यसहित स्थापित एकेडेमीमा भविष्यमा जुडो, बक्सिङ र उसुको पनि प्रशिक्षण गराइने जनाइएको छ।

एकेडेमीको शुभारम्भका अवसरमा सागका तीन स्वर्ण विजेता तेक्वान्दोकी आयशा शाक्य, दोहोरो स्वर्णधारी करातेका मन्देकाजी श्रेष्ठ, स्वर्णधारी तेक्वान्दोकी संगीता बस्याल, रजत विजेता अप्सरा कार्की, ओलम्पियन निशा रावल, सागमा करातेका कांस्य विजेता मुकुन्द्र महर्जन, डिगम्बरप्रसाद पन्त, जुडोका कांस्यधारी श्रीराम माकाजु, उसुका रजतधारी विश्व बुढामगर, मीना ग्लानलगायतलाई सम्मान गरिएको थियो।

खेलाडीहरूलाई नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जितबहादुर केसी, सागका चार स्वर्ण विजेता दीपक विष्ट, दुई स्वर्ण विजेता दीपक श्रेष्ठ, कराते प्रशिक्षक ध्रुवविक्रम मल्ल, एकेडेमीका निर्देशक सुशीला लामालगायतले सम्मान गरेका थिए।