दिपक श्रेष्ठ नेपाल कराते महासंघको सहायक मुख्य प्रशिक्षकमा नियुक्त


२९ साउन, काठमाडौं — दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठले करातेको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका छन। राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव स्तरीय निर्णयबाट श्रेष्ठलाई आइतबार सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

ललिपतुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत श्रेष्ठले अब तालिम तथा प्रशिक्षण विभागमा रहि जिम्मवारी पूरा गर्नुपर्नेछ। करातेका मुख्य प्रशिक्षक हिरा सिंह डंगोल विदामा छन। करातेको व्यवस्थापकिय जिम्मेवारी निर्वाह गर्नका लागि विश्वास गरेकोमा राखेप नेतृत्व र परिवारलाई श्रेष्ठले धन्यवाद दिएका छन् ।

नवौं राष्ट्रिय खेलकुद नजिकिदो छ । यस्तोमा व्यवस्थापकिय जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने हुन्छ,’ श्रेष्ठले भने,‘ अहिले सम्म प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेको थिए अब त्यसमा व्यवस्थापकिय जिम्मेवारी पनि थपिएको छ । मलाई त्यसको जिम्मेवारी प्रदान गर्ने राखेप नेतृत्व र परिवारलाई धन्यवाद। यसले करातेलाई थप व्यवस्थित बनाउन आफ्नो ठाँउबाट प्रयास गर्नेछु।

सन् १९९९ मा स्वदेशमा भएको आठौं साग र २००४ मा पाकिस्तानमा भएको नवौं सागमा श्रेष्ठले स्वर्ण पदक जितेका थिए । करातेमा लगातार दुई संस्करणमा स्वर्ण पदक जित्ने उनी पहिलो खेलाडी हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका श्रेष्ठ २०५४ सालमा राखेपमा नियुक्त भएका थिए भने २०६१ मा स्थायी भएका थिए । उनले पटक पटक राष्ट्रिय कराते टोलीलाई प्रशिक्षण दिदै आएका छन् ।