राष्ट्रिय फुटबल टोलीकी दीपा र सरु सहित पाँच खेलाडी सम्मानित


मोरङ, १० असार (Sports for Nepal) — नेपाली राष्ट्रिय फुटबल टोलीकी दीपा न्यापौने र सरु लिम्बु सहित पाँच खेलाडीलाई मोरङको पथरी-शनिश्चरे नगरपालिकाले नगदसहित सम्मान गरेको छ। 

नगरपालिकाले आइतबार तैह्रौँ नगरसभामा राष्ट्रिय टोलीमा प्रतिनिधित्व गरेका तिन र उमेर समूहका दुई खेलाडीलाई एकै साथ सम्मान गरेको हो। नगरपालिकाले पाँच खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको हो। 

नगरपालिकाले सिनियर टोलीकी दिपा र सरु तथा पुरुष टोलीका दीपक राई  तथा उमेर समूहका रूपा धिमाल र पुनम चेम्जोङलाई सम्मान गरेको हो। रुपाले नेपालको यू–१५ र पुनमले यू–१७ बाट नेपालको प्रतिनिधित्व गरेका थिए। 

नगरपालिकाले पहिलो चरणमा फुटबल खेलाडीलाई सम्मान गरेको हो। आगामी दिनमा आफ्नो नगरपालिकाका अन्य खेलका खेलाडीलाई पनि सम्मान गर्दै जाने नगरपालिकाले बताएको छ। 

नेपाल पुलिस क्लबमा ६ वर्षदेखि आबद्ध रहेकी दीपाले भारतको केरेला महिला लिग समेत खेलेर उत्कृष्ट प्रदर्शन गर्दै लगातार दुईपटक प्लेयर अफ दि म्याच समेत घोषित भएकी थिईन।