अर्जेन्टेनी स्टार लिओनल मेसीको मियामी सँग २०२५ सम्म सम्झौता


काठमाडौं, ३१ असार (Sports for Nepal) —  अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले अमेरिकी एमएलएस क्लब इन्टर मियामीसँग २०२५ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

गत वर्ष कतारमा विश्वकप जित्दा आफ्नो देशको नेतृत्व गरेका मेसीले मियामीसँगको सम्झौतापछि भने, 'इन्टर मियामी र संयुक्त राज्य अमेरिकामा मेरो करियरको अर्को चरण सुरु गर्न पाउँदा म धेरै उत्साहित छु।'

युरोप बाहिरका क्लबका लागि पहिलो पटक खेल्न लागेका मेसीले थपे, ‘यो उत्कृष्ट अवसर हो र हामी मिलेर यस सुन्दर परियोजनालाई निरन्तरता दिनेछौँ।'

सात पटकको बालोन डी’ओर विजेता ३६ वर्षीय मेसीले सन् २०२२-२३ सिजनको अन्त्यमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन छाडेका थिए।

इन्टर मियामीका सह-मालिक डेभिड बेकह्यामले हस्ताक्षरलाई 'सपना साकार' भएको बताएको बिबिसीले उल्लेख गरेको छ।

सम्झौतापछि इंग्ल्यान्डका पूर्वकप्तान बेकह्यामले भने, '१० वर्ष पहिले जब मैले मियामीमा नयाँ टोली निर्माण गर्न मेरो यात्रा सुरु गरें, मैले सबैभन्दा ठूलो खेलाडीहरू ल्याउने सपना देखेको थिएँ। आज त्यो सपना साकार भयो। मेसी हाम्रो क्लबमा सामेल भएकोमा खुसी छु। एक असल साथी, एक अद्भुत व्यक्ति र उनको सुन्दर परिवारलाई हाम्रो इन्टर मियामी समुदायमा सामेल हुन पाउँदा खुसी छु।

मेसीले २०२१ मा विश्वको उत्कृष्ट खेलाडीको लागि आफ्नो सातौं बालोन डी'ओर अवार्ड जितेका थिए र अर्जेन्टिनालाई २०२२ मा कतारमा विश्वकपको सफलता दिलाएपछि यो वर्ष पछि फेरि जित्न सक्ने अपेक्षा गरिएको छ।

उनले पीएसजीका लागि कुल ७५ खेलमा ३२ गोल गरेका थिए।  लिग १ मा १६ गोल र १६ असिस्टसहित गत सिजनको अन्त्य गरेका थिए।

६७२ गोल गरी १० ला लिगा उपाधि, चार च्याम्पियन्स लिग र सातवटा स्पेनिस कप जितेका मेसी बार्सिलोनाको कीर्तिमानी गोलकर्ता हुन्।

बार्सिलोनासँग २१ वर्ष बिताएपछि मेसी २०२१ मा फ्रान्सेली टोलीमा आवद्ध भएका थिए।