नुवाकोट सेवा समाज युएईले फूटबल र भलिबल टिम तयार गर्दै


काठमाडौं, ७ भदौ (Sports for Nepal) — नुवाकोट सेवा समाज युएईले फूटबल र भलिबल खेललाई मध्यनजर गर्दै उक्त खेलको लागी टिम तयार गर्न खेलाडिहरु लाई आवेदन दिनको लागी आव्हान गरेको छ ।

युएईमा हुने बार्षिक खेलकुद प्रतियोगितालाई ध्यानमा राखी आफ्नो जिल्लाका खेलाडिहरु समेटी फूटबल र भलिबलका लागी छुट्टा छुट्टै टिम घोषणा गरेर प्रतियोगिताहरुमा आफ्नो उपस्थिती जनाउने द्देश्यका साथ " स्वास्थ्यका लागि खेलकुद - राष्ट्रका लागि खेलकुद, खेलकुदका लागि नुवाकोट सेवा समाज युएई" भन्ने नारा दिदै संस्थाले युएई भरी छरिएर रहेका खेलाडिहरुलाई आवेदन दिनको लागी आव्हान गरेको छ। 

आवेदन दिएका खेलाडी हरुलाई बाट छनोट भएका खेलाडिहरुलाई संस्थाले नै सबै किसिमको खेलकुद सामग्रीहरु उपलब्ध गराएर प्रतियोगिताको लागी सम्पुर्ण तयारी गर्ने संस्थाका अध्यक्ष नविन कार्कीले जानकारी दिएका छन । त्यसको निम्ती हालै एनआर एनए एनसिसी युएईको सचिव पदमा निर्वाचित भएका नुवाकोटका सुमन भण्डारीले समेत आफ्नो तर्फ बाट सक्ने सहयोग गर्नको लागी तत्पर रहेको जानकारी गराएका छन ।

बिभिन्न सामाजिक कामहरुमा सहयोग र सहकार्य गर्दै अगाडी बढेको नुवाकोट सेवा समाज युएईले  बिगतका दिनहरुमा पनि धेरै राम्रा राम्रा कार्यहरु गर्दै युएईमा रहेको बिभिन्न सामाजिक संस्थाहरुको माझमा आफुलाई अग्र स्थानमा उभ्याउन सफल रहेको छ । उसले कोभिड-१९ को समयमा त्रीशुली अस्पताललाई अत्याधुनिक सुबिधा सहितको २ थान इमर्जेन्सी बेड प्रदान गरेको थियो । त्यस्तै दुबै मृगौला फेल भएर टिचिङ अस्पताल काठमाडौमा डायलाइसिस गर्नको लागि घरको आर्थिक अवस्था ज्यादैनै नाजुक भएका बिरामी हरुलाई समेत आर्थिक सहयोग गरेको थियो । त्यसैगरी गत बर्ष ब्रेन ट्युमर भइ दुई महिना देखी  धुलिखेल अस्पताल काभ्रेमा उपचारार्थ रहेका एक बिरामिको सबै उपचार खर्च नुवाकोट सेवा समाज युएईले नै उपलब्ध गराएको थियो ।