नेपालको पपुलर ईस्पोर्ट टिम डिआरएस गेमिङ ''युथ आइकन नेपाल'' पुरस्कार द्वारा सम्मानित


काठमाडौँ, ९ भदौ (Sports for Nepal) — युनिभर्सल कलेज र फिनिक्स कलेजको आयोजनामा काठमाडौँ युथ कनक्लेभ (केवाइसी) २०८० द्वारा मोबाइल इगेमिङको माध्यमबाट नेपाललाई विश्वमा चिनाउदै आएको डिआरएस गेमिङलाई रु  एक लाख सहितको ‘युथ आइकन नेपाल’ पुरस्कार प्रदान गरिएको छ । करिब ५ हजार विद्यार्थी तथा युवाहरुको सहभागिता रहेको उक्त कार्यक्रममा उनिहरुको भब्य सम्मान गरिएको हो ।

युनिभर्सल कलेज र फिनिक्स कलेजको आयोजनामा  हरेक वर्ष हुने काठमाडौँ युथ कनक्लेभ (केवाइसी) को यो चौथो श्रृङ्खला हो । कार्यक्रम आज शनिबार बिहान ११ बजेबाट कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा सुरु भएको थियो । 

कार्यक्रममा गीत, संगीत, हास्यब्यङ्ग्य सहित देशका ख्यातिप्राप्त व्यक्तित्वहरुले आफ्ना सफलताका कथा, उर्जा र उत्प्रेरणाका विचारहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपालकै चर्चित आँखा रोग विशेषज्ञ डा । सन्दुक रुइत, मास्टरसेफ सन्तोष साह, डिआरएस गेमिङ, क्रिकेटर पारस खड्का, इसेवाका सिइओ जगदिश खड्का लगायतले आ–आफ्ना प्रस्तुति दिएका थिए । 

साँझ ६ बजेसम्म चलेको कार्यक्रममा गायकहरु नितेशजंग कुँवर, समृद्धि राई, कमेडियन सजन श्रेष्ठ लगायतको प्रस्तुती रहेको कार्यक्रम संयोजक राजु टण्डनले जानकारी दिए । 

केवाइसी युवा विद्यार्थीहरुलाई मोटिभेट र इन्स्पायर गर्ने कार्यक्रम हो । नेपालमै रहेर उल्लेख्य प्रगति गरेका ख्यातिप्राप्त व्यक्तिहरुको सफलताका कथा युवामा वितरण गर्नु, नेपाली उत्पादनको प्रवद्र्धन गर्नु, नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश दिनु र केही हदसम्म भए पनि युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु यो कार्यक्रमको उद्देश्य हो ।