मेसीले भने– म क्लब छाड्न चाहन्छु


अन्तत: लिओनल मेसीले आफ्नो भविष्यबारे मुख खोलेका छन् । झण्डै दुई दशक स्पानिस जायन्ट बार्सिलोनामा बिताएका मेसीले आफूले क्लब छाड्न चाहेको बताएका छन् ।

कप्तानसमेत रहेका मेसीले मंगलबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले क्लब छाड्न चाहेको जानकारी गराएका हुन् । उनले यसबारे आफ्नो धारणा क्लबलाई फ्याक्समार्फत पठाएको स्पानिस अनलाइन मार्काले जनाएको छ । मेसीले आफ्नो सम्झौताबाट रिलिज गरिदिन आग्रह गरेका छन् । मेसीको रिलिज क्लब ७०० मिलियन युरो रहेको छ ।

क्याम्प नोउ क्लबमा मेसीको सम्झौता अझै १ वर्ष बाँकी छ । तर च्याम्पियन्स लिग क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हारपछि मेसीले क्लब छाड्ने मनसाय बनाएका हुन् ।

च्याम्पियन्स लिगबाट बाहिरिएपछि प्रशिक्षक किकेट सेटिएन बर्खास्तमा परेका थिए । उनको स्थानमा क्लबकै पूर्वखेलाडी रोनाल्ड कोएमन बार्सिलोनाको नयाँ प्रशिक्षक बनेका छन् ।

मेसीले नयाँ प्रशिक्षक कोएमनसँगको व्यक्तिगत मिटिङमा पनि आफू क्लब भित्रको भन्दा क्लब बाहिरको धेरै भएको जस्तो लागेको बताएका थिए । साथै उनले क्लबमा अर्को सिजन रहनेमा पनि संशय व्यक्त गरेका थिए ।

मेसीले क्लब छाड्ने चाहने धारणा सार्वजनिक गरेपछि क्लबको आपतकालीन बैठक बोलाइएको स्पानिस रेडियो आरएसी वानले जनाएको छ । आरएसी वानका अनुसार मेसीले आफ्नो सम्झौता रद्द गर्न क्लबसँग आग्रह गरेका छन् ।

मेसीले क्लबसँग सन् २०१७ मा सम्झौता बढाएका थिए जून सन् २०२१ मा समाप्त हुँदै छ । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने मेसीले जुनसुकै बेला पनि क्लब छोड्न सक्छन् ।

बार्सिलोनाका लागि मेसीले हालसम्म ६ सय ३४ गोल गरेः

मेसीले बार्सिलोनाका लागि १८ वर्षको उमेरमा १६ अक्टोबर सन् २००४ मा डेब्यू गरेका थिए । त्यतिबेलादेखि अहिलेसम्म उनले टीमका लागि ७ सय ३१ म्याचमा ६ सय ३४ गोल हाने र २ सय ७६ वटा गोल हान्न सहयोग गरे । यतिबेला उनले टीमलाई १० ला लिगा र ४ यूइएफए च्याम्पिनन्स लीगसमेत ३४ उपाधि जिताएका छन् ।

कोच वेलर्वेदे हटेपछि मेसी र स्पोर्टिङ म्यानेजरबीचको सम्बन्ध खराबः

यसै वर्ष जनवरीमा एर्नेस्तो वेलवेर्देलाई बार्सिलोनाको कोचको पदबाट हटाइएको थियो । यस विषयमा मेसी र स्पोर्टिङ म्यानेजर एरिक अबिदालबीच सम्बन्ध खराब छ ।

अबिदालले मेसीको नाम नलिइकनै वेलवेर्देसँग टीमका खेलाडी खुसी नभएका कारण उनलाई बर्खास्त गरिएको बताए । मेसीले यसको जवाफमा भनेका थिए, ‘नाम नलिइकनै खेलाडीको आलोचना गर्नु गलत हो । ’

यो विवादपछि मिडियामा मेसीले क्लबसँग आफ्नो सम्झौता नबढाउने अनुमान गरिएको थियो ।

चारवटा क्लबबीच मेसीलाई खरिद गर्ने होडबाजीः

– म्यान्चेस्टर सिटीः सिटी च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ । उसले यसपटक घरेलू लीग पनि जित्न सकेन । उसको कोच गुआर्डिओलाले बार्सिलोनालाई कोचिङ दिइसकेका छन् । यस्तोमा उनी यो खेलाडीलाई क्लबसँग जोडेर सिटीलाई घरेलू र युरोपियन च्याम्पियन बनाउन चाहन्छ ।

– इन्टर मिलानः मेसीका प्रतिद्वन्द्वी रोनाल्डो इटलीको क्लब युवेन्टससँग खेल्छन् । यस्तोमा इन्टर मिलानले मेसीलाई अनुबन्ध गरेर यी दुईलाई पुनः प्रतिद्वन्द्वीको रुपमा मैदानमा उतार्न चाहन्छ । मेसीका अर्जेन्टिनाका पुराना साथी जेविय जानेटी बोर्डका भाइस प्रेसिडेन्ट हुन् ।

– नेवेल्स ओल्य बोयजः अर्जेन्टिनाको यो क्लब मेसीको सुरुवाती क्लब हो । उनी ६ वर्षको उमेरदेखि यो क्लबसँग जोडिएका थिए र ५ सय गोल गरेका थिए ।

– अल–सादः कतारको क्लबका म्यानेजर बार्सिलोनाका पूर्व कप्तान जावी हुन् । कतारमा विश्वकप पनि आयोजना हुँदैछ । यस्तोमा क्लबले मेसीलाई जोडेर माहौल बनाउन चाहन्छ ।

News source: onlinekhabar and ratopati