रियलको विजयी यात्रा जारी


१५ असोज, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिडले कठिन जित हात पारेको छ । भिनिसियस जुनियरले गरेको एक मात्र गोल मद्दतमा रियल मड्रिडले रियल भाल्लाडोलिडलाई १-० ले पराजित गरेको हो ।
रियलको घरेलु मैदान अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा भाल्लाडोलिडले पहिलो हाफमा बराबरीमा रोकेको थियो । दोस्रो हाफको मध्यतिर भिनिसयसले निर्णायक गोल गर्दै रियललाई ३ अंक दिलाए । तर,दोस्रो हाफमा रियलले गोल गरेका थिए ।
रियलका लागि ६५औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोल निर्णायक बन्यो । जितपछि ३ खेलबाट ७ अंक जोडेको रियल मड्रिड तेस्रो स्थानमा छ । ३ खेलबाटै ७ अंक जोडेको गेटाफे र ४ खेलबाट ७ अंक जोडेको भ्यालेन्सिया क्रमश: पहिलो र दोस्रो स्थानमा छ ।
गएराति नै भएका अर्को खेलमा रियलको छिमेकी एट्लेटिको मड्रिड हुएस्कासंग गोलरहित बराबरीमा रोकिएको छ ।भने भिल्लेरियालले आलाभेसलाई ३–१ गोलअन्तरले हरायो । इल्चेले इबारलाई १–० गोलले पराजित गर्यो ।