बार्सिलोनाको शानदार दोस्रो प्रभावशाली जित


१६ असोज, काठमाडौं । युवा स्टार अंशु फाटीले लगातार दोस्रो खेलमा गोल गर्दा स्पानिस ला लिगामा बार्सिलोनाले शानदार जित हात पारेको छ ।
बिहीबार राति भएको खेलमा १० खेलाडीमा सीमित बार्सिलोनाले सेल्टा भिगोमाथि ३-० को जित हात पारेको हो। 
बार्सिलोनाका लागि अन्सु फातीले ११ मिनेटमा पहिलो गोल गरे। उनले काउटिन्होको पासमा गोल गर्न सफल भएका थिए। 
४२ मिनेटमा बार्सिलोना १० खेलाडीमा सीमित भयो। लेङलेट ४२ मिनेटमा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए।
५१ मिनेटमा बार्सिलोनाले उपहार गोलमार्फत अग्रता दोब्बर पार्‍यो। सेल्टा भिगोका ओलाजाले आफ्नै पोस्टमा गोल गर्दा बार्सिलोनालाई फाइदा पुगेको थियो। 
दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा रोबर्टोले बार्सिलोनाका लागि तेस्रो गोल गरे। 
लिगका अन्य खेलमा कार्डिजले एथ्लेटिक बिल्बाओलाई १-० तथा सेभियाले लेभान्टेलाई पनि १-० गोलले पराजित गरेका छन्। 
लिगमा बार्सिलोना २ खेलबाट ६ अंक जोड्दै पाँचौ स्थानमा छ।
शीर्ष स्थानको गेटाफे, दोस्रो स्थानको भ्यालेन्सिया र तेस्रो स्थानको रियल म्याड्रिडले ७-७ अंक जोडेका छन्। गेटाफेले तीन खेल खेल्दा भ्यालेन्सियाले चार र रियलले तीन खेल खेलेका छन्।