राष्ट्रपति द्वारा ओलम्पियन दीपकसहित खेलाडी र खेलकर्मी विभूषित, अरुणालाई जन सेवाश्री


बैशाख १ काठमाडौँ — नेपाली खेलकुदमा व्यक्तिगत स्पर्धाका सर्वाधिक सफल खेलाडी ओलम्पियन तेक्वान्दोका दीपक विष्टसहित बिभिन्न खेलका खेलाडी तथा खेलकर्मीहरु नया बर्षको दिन विभूषित भएका छन् ।

सरकारले संविधान दिवसका अवसरमा गत असोज ३ गते मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुनेहरुको नाम सार्वजनिक गर्दा बिभिन्न खेलका खेलाडी र खेलकर्मी पनि समेटिएका थिए । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा खेलकर्मीहरु विभूषित भएका हुन् ।

सागको आठौं देखि ११ औं सम्म तेक्वान्दोमा स्वर्ण पदक जितेका दीपक विष्ट प्रबल जनसेवाश्रीबाट विभूषित भएका छन् । सागमा लगातार चार स्वर्ण, एसियाली खेलकुदमा २ कास्य जित्ने एक मात्र खेलाडी विष्ट छनोट चरण पार गरेर ओलम्पिक खेल्ने दोस्रो नेपाली हुन् ।

तीन वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ४ स्वर्ण पदक जितेकी तथा ओलम्पियन समेत रहेकी पौडीकी गौरिका सिंहलाई राष्ट्रदीपबाट विभूषित हुने सुचीमा छिन् । अध्ययनका सिलसिलामा गौरिका हाल अमेरिकामा रहेकी छिन् ।

राष्ट्रदीप विभूषण पाउने दुई मध्ये गौरिका र अर्को प्रहरी हल्वदार प्रकाश कथायत छन् । गौरिकाले १३ औं सागमा ४ स्वर्णसहित ९ पदक जितेकी थिइन् । दुई पटक ओलम्पिकमा भाग लिइसकेकी गौरिका सन् २०१६ को रियो ओलम्पिकमा सहभागी मध्ये सबै भन्दा कम उमेर १३ वर्षकी थिइन्।

गौरिका र विष्टसँगै बिभिन्न खेलका दर्जनभन्दा बढी व्यक्तिहरु पनि विभूषित भएका छन् । युथ पारा एसियन च्याम्पियनसिपकी स्वर्ण पदक विजेता तथा पारा ओलम्पियन पलेशा गोबद्र्धन, महिला राष्ट्रिय भलिबल टोलीलाई दुई पटक सेन्ट्रल जोन च्याम्पियन बनाउन सफल प्रशिक्षक जगदिश भट्ट, सोही टोलीकी कप्तान अरुणा शाही, राष्ट्रिय खेलकुद परिषद्की मुख्य फुटबल प्रशिक्षक अरुणा गुरुङ र तेक्वान्दो खेलाडी भजिन्द्रबहादुर क्षेत्री, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठ जनसेवा श्रीबाट विभूषित भएका छन्।

पूर्व एथलेटिक्स खेलाडी ओलम्पियन तथा एपिएफकी एथलेटिक्स प्रशिक्षक प्रमिला रिजाल प्रताप भुषणबाट सम्मानित भएकी छन । राखेपकी पूर्व सदस्य रेनुका श्रेष्ठ, नेपाल क्रिकेट संघ (क्यान) का सदस्य, एसियाली खेलकुदका कास्य पदक विजेता बक्सिङ खेलाडी दीपक महर्जन, प्रशान्त मल्ल, श्याम गुरुङ, मोतीकला गुरुङ, शिवनध्वज देवान राई र रन्जित तामाङले सुकीर्ति पदकबाट विभूषित भएका छन ।

विभूषित हुने खेलाडी र खेलकर्मी

प्रवल जनसेवाश्रीदीपक विष्ट (ओलम्प्यिन)

राष्ट्रदीप – गौरिका सिंह (ओलम्पियन, १३ औं सागमा ४ स्वर्ण पदक विजेता)

जन सेवाश्रीअरुणा शाही (राष्ट्रिय भलिबल टोली, कप्तान), जगदिश भट्ट (राष्ट्रिय महिला भलिबल टोली, प्रशिक्षक), निलेन्द्र राज श्रेष्ठ (एनओसी महासचिव), पलेशा गोबद्र्धन श्रेष्ठ (पारा तेक्वान्दो, पारा ओलम्पियन), सुजन लाल श्रेष्ठ (नेपाल फेन्सिङ संघ, महासचिव), जगत बहादुर खड्का (खेलकुद प्रवद्र्धक), अरुणा गुरुङ ( मुख्य फुटबल प्रशिक्षक, राखेप) र भजिन्द्र बहादर क्षेत्री (तेक्वान्दो खेलाडी)

सुकीर्ति पदक – रेनुका श्रेष्ठ, दीपक महर्जन, प्रशान्त मल्ल, श्याम गुरुङ, मोतिकला गुरुङ, शिवनध्वज देवान राई र रन्जित तामाङ

नेपाल प्रताप भुषण – प्रमिला रिजाल ( सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय)